प्रहरी कन्ट्रोल : १००
नेपा
EN

मेट्रो ट्राफिक एफएमको १०औं वार्षिकोत्सवको अवसरमा ट्राफिक चेतनामूलक साँस्कृतिक कार्यक्रम

२०७९-०४-०६

  • A
  • A-
  • A+
Share

काठमाडौं, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहको प्रमुख आतिथ्यमा काठमाडौं बसन्तपुर डबलीमा मेट्रो ट्राफिक एफएम ९५.५ मेगाहर्जको १०औं वार्षिकोत्सवको अवसरमा आयोजित ट्राफिक चेतनामूलक साँस्कृतिक कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । 

            कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले सवारी दुर्घटना हुनुको मूख्य कारण जनचेतनाको कमी भएको उल्लेख गर्दै ट्राफिक, लाइट र लेन अनुशासन सम्बन्धी जानकारी लगायतका विषयमा जनचेतना जगाउन विशेष पहल गर्नुपर्ने बताउनुभयो । त्यसका लागि काठमाडौं महानगरपालिकाले नेपाल प्रहरी र ट्राफिक प्रहरीसँग सहकार्य गर्दै आएको र आगामी दिनमा समेत सहकार्य गर्दै जाने उहाँले चर्चा गर्नुभयो । साथै उहाँले ट्राफिक व्यवस्थापन तथा पार्किङ व्यवस्थापनका लागि महानगरपालिकाले ट्राफिक प्रहरीको समन्वयमा आवश्यक पहल गरिरहेको बताउनुभयो । 

        कार्यक्रममा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले कार्यक्रम आयोजना गर्न सहयोग पुर्‍याउने विभिन्न संस्था तथा महानुभावहरुलाई कदरपत्र प्रदान गर्नुभयो । 

            प्रहरी महानिरीक्षक सिंहले ट्राफिक एफएमलाई १०औँ वार्षिकोत्सवको अवसरमा शुभकामना दिँदै विशेषगरी अपराध र ट्राफिक सम्बन्धी प्रभावकारी र प्रशंसनीय सचेतनामूलक जानकारी दिने एफएम सुन्नका लागि सबैमा आग्रह गर्नुभयो । साथै उहाँले सांगितिक प्रस्तुतीबाट मनोरञ्जन समेत दिँदै आएको एफएमलाई यो स्थानमा पुर्‍याउन स्रोता र विशेष गरी महानगरपालिकाको सहयोग रहेको उल्लेख गर्नुभयो । 

            कार्यक्रममा काठमाडौं महानगरपालिकाका पूर्व प्रमुख विद्या सुन्दर शाक्यले आफ्नो मन्तव्य व्यक्त गर्दै प्रहरी र महानगरपालिकाले आ-आफ्नो क्षेत्रमा सहकार्य गरेर आफूले संचालन गर्ने कार्यमा सफलता हासिल गर्न अग्रसर हुनुपर्ने बताउनुभयो । विगतमा महानरगपालिका, काठमाडौं उपत्यका प्रहरी कार्यालय र ट्राफिक प्रहरीले संचालन गर्दै आएका विभिन्न कार्यक्रमलाई निरन्तरता दिँदै अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो । 

            काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक रविन्द्र बहादुर धानुकले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा मेट्रो ट्राफिक एफएम व्यवस्थापन समितिकी अध्यक्ष काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयकी प्रमुख प्रहरी नायव महानिरीक्षक मिरा चौधरीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

            साँस्कृतिक कार्यक्रमको माध्यमबाट सडक सुरक्षा र ट्राफिक सचेतना फैलाउने उद्देश्यले मेट्रो ट्राफिक एफएम ९५.५ मेगाहर्जको १०औं वार्षिकोत्सवको अवसरमा उक्त साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा नेपाल प्रहरी संगीत विद्यालयद्वारा गायन, नृत्य, नाटक लगायत विभिन्न सांगितिक प्रस्तुती गरिएको थियो । 

            कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, सडक विभाग, यातायात व्यवस्था विभाग, सडक बोर्ड नेपाल, संघीय सडक सुपरीवेक्षण कार्यालयका प्रमुखहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, काठमाडौं महानगरपालिकाका १२ वटा वडाका प्रमुख तथा प्रतिनिधिहरू, उपत्यकास्थित सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, संचारकर्मी, स्थानीय बासिन्दा लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ५ जना पक्राउ
२०८३-०६-२९

२०८३-०६-२९            काठमाडौं महानगरपालिका-१६ माछापोखरीबाट अवैध लागूऔषध आईस (मेथाम्फेटामाईन) जस्तो देखिने पदार्थ १५ ग्राम सहित ५ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रसुवा नौकुण्ड गाउँपालिका-२ घर भएका ३२ वर्षीय सुमन थोक्रा, सोही गाउँपालिका-१ घर भएका २८ वर्षीय गणेश थोक्रा तामाङ, काठमाडौं टोखा नगरपालिका-१ घर भएका २९ वर्षीय सुनिल तामाङ, काठमाडौं तारकेश्वर बस्ने धादिङ खनियाबास गाउँपालिका-५ घर भएका २२ वर्षीय योना तामाङ र १८ वर्षीय किशोर रहेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ३ जना पक्राउ
२०८३-०६-२७

२०८३-०६-२७काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका-५ जोरपाटीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय १० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-५ जोरपाटी बस्ने सर्लाही लालबन्दी नगरपालिका-३ घर भएका ३८ वर्षीय कृष्ण बहादुर विश्वकर्मा र  काठमाडौं महानगरपालिका-६ तिनचुली बस्ने काभ्रे तेमाल गाउँपालिका-३ घर भएका २९ वर्षीय बिसाल तामाङ रहेका छन् । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।             यसैगरी काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका-८ अत्तरखेलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ७ ट्याब्लेट सहित सोही नगरपालिका-८ माकलबारी बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-८ घर भएका २१ वर्षीय बिकेश नेपालीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोकर्णबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ
२०८३-०६-२७

२०८३-०६-२७काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।          पक्राउ पर्नेहरूमा टोखा नगरपालिका-३ बस्ने बागलुङ तमानखोला गाउँपालिका-४ घर भएका २२ वर्षीय दिपक श्रीपाली, ललितपुर महालक्ष्मी नगरपालिका-५ बस्ने ३४ वर्षीया नेहा अधिकारी, काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-६ बस्ने पाँचथर याङवरक गाउँपालिका-६ घर भएका ४२ वर्षीय सुमन योङहाङ र चन्द्रागिरी नगरपालिका-६ बस्ने ४२ वर्षीया सुस्मिता नेपाली रहेका छन् ।  पक्राउ मध्ये दिपकले टर्की पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ४८ हजार रूपैयाँ, नेहाले बेलायत पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ६७ लाख रूपैयाँ, सुमनले दक्षिण कोरिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ६ लाख रूपैयाँ र सुस्मिताले बेलायत पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले दिपकलाई टोखा नगरपालिका-३ बाट शुक्रबार, नेहालाई काठमाडौं महानगरपालिका-११ बाट शनिबार, सुमनलाई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-६ बाट आइतबार र सुस्मितालाई काठमाडौं महानगरपालिका-१७ बाट सोमबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

चोरीमा संलग्न ५ जना पक्राउ
२०८३-०६-२६

२०८३-०६-२६काठमाडौं, सुनको गरगहना, नगद र ल्यापट चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा ५ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२२ न्यूरोड बस्ने २८ वर्षीय सिजल तामाङ भन्ने राजन स्याङ्बो, सोही महानगरपालिका-२३ बस्ने दोलखा घर भएकी २७ वर्षीया रिया कार्की, नागार्जुन नगरपालिका-३ बस्ने सुनसरी घर भएका ३३ वर्षीय प्रकाश कडुवाल, काठमाडौं महानगरपालिका-१३ ताहाचल बस्ने ३७ वर्षीय रोमन श्रेष्ठ र सोही महानगरपालिका-१६ माछापोखरी बस्ने नुवाकोट घर भएका ४५ वर्षीय जित बहादुर विश्वकर्मा रहेका छन् ।   भक्तपुर मध्यपुर थिमि नगरपालिका-१ लोकन्थलीस्थित घरबाट असोज १८ गते सुनको गरगहना, नगद र ल्यापट समेत गरी करिब ८४ लाख ७६ हजार ७ सय रूपैयाँ बराबरको धनमाल चोरी भएको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट ६ तोला ८९ लाल बराबरका सुनका विभिन्न गरगहनाहरू, चाँदीको औठी २ थान, ल्यापटप १ थान, मोबाइल ३ थान र नगद २ लाख ७० हजार रूपैयाँ समेत बरामद गरेको छ । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त ठिमी भक्तपुर पठाइएको छ ।