प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ
प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ साबिकको भोजपुर जिल्लाको हेलौंछा वडा नम्बर ३ तथा हालको भोजपुर नगरपालिका वडा नम्बर २ हेलौंछामा वि.सं. २०२७ असोज २९ गते जन्मनु भएको थियो । प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले वि.सं. २०५२ भदौ १९ गते प्रहरी निरीक्षक पदबाट नेपाल प्रहरी सेवा प्रारम्भ गर्नुभएको हो । प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ २०६३ भदौ ८ गते प्रहरी नायव उपरीक्षक, २०७१ फाल्गुन १० गते प्रहरी उपरीक्षक, २०७५ फागुन ६ गते प्रहरी वरिष्ठ उपरीक्षक, २०७९ असार १७ गते प्रहरी नायव महानिरीक्षक र २०७९ चैत २४ गते प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति हुनुभएको थियो ।
व्यवस्थापन संकायमा स्नातकोत्तर तहसम्मको अध्ययन पुरा गर्नुभएका प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले इन्टरनेश्नल ह्युमेनेटेरियन ल एण्ड ल अफ आर्मड कन्फ्लिक्ट, ईन्टरपर्शनल स्किल ट्रेनिङ, ग्लोबल टेरोरिजम, पिसकिपिङ एण्ड ईन्टरनेशनल कन्फ्लिक्ट रिजोलुसन, कोर्ष अन प्यासिफिक ट्रेनिङ इनिसियटिभ, बेसिक सेक्युरीटी इन द फिल्ड, मानव अधिकार र कानून कार्यान्वयनमा प्रशिक्षक प्रशिक्षण तालिम, अन्तरदेशीय र संगठित बौद्धिक सम्पत्ति मुद्दाको अनुसन्धान, ट्रेनिङ कोर्ष फर नेपाल ल इन्फोर्समेन्ट अफिसर्स, एडभान्स ट्रेनिङ अन नेशनल सेक्युरिटी लगायतका विभिन्न १९ वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिम हासिल गर्नुभएको छ । अतिरिक्त महानिरीक्षक तामाङ गद्दी आरोहण रजत पदक, संयुक्त राष्ट्र संघ पदक र दैवीप्रकोप पीडितोद्दार पदक विभूषणबाट विभूषित हुनुहुन्छ ।
प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले प्रहरी निरीक्षक र प्रहरी नायव उपरीक्षक हुँदा काठमाडौं, मकवानपुर, मोरङ, धादिङ, चितवन, ललितपुर, रुकुम, अर्घाखाँची, खोटाङ, सुनसरी जिल्लाहरू तथा मातहत युनिटमा खटिएर जिम्मेवारी पूरा गर्नुभएको थियो । प्रहरी उपरीक्षक भएपछि जिल्ला प्रहरी कार्यालय बाँके तथा महानगरीय प्रहरी पहरा गण मुख्यालय सामाखुसीको कमाण्ड गर्नुका साथै अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालमा आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुभएको थियो । प्रहरी वरिष्ठ उपरीक्षक भएपछि उहाँले १.नं. प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगर तथा प्रहरी प्रधान कार्यालय, प्रहरी कल्याण महाशाखा प्रमुख तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालमा आफ्नो जिम्मेवारी निर्वाह गर्नुभएको थियो । प्रहरी नायव महानिरीक्षकमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालमा प्रहरी महाशाखा प्रमुखको रुपमा कमाण्ड सम्हाल्नु भएको थियो । नेपाल प्रहरी प्रधान कार्यालय अपराध नियन्त्रण तथा सामुदायिक सुरक्षा महाशाखाको अनुभव लिनुभएका तामाङ २०७९ चैत २४ मा प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नति हुनुभएको हो । प्रहरी अतिरिक्त महानिरीक्षकमा उहाँले नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागको कमाण्ड सम्हाल्नुका साथै हाल उहाँले काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीको कार्यालय प्रमुखको रुपमा आफ्नो जिम्मेवारी कुशलतापूर्वक सम्हालिरहनु भएको छ ।