प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाद्वारा नेपाल पुलिस स्कुल सामाखुसीको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न
२०८०-०८-२०

काठमाण्डौ, २० मंसिरमिति २०८०-०८-२० गते नेपाल पुलिस स्कुल सामाखुसीका संरक्षक तथा काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाद्वारा बुधबार नेपाल पुलिस स्कुल सामाखुसी काठमाण्डौको  निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न भएको छ । निरीक्षण तथा निर्देशन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रहरी अतिरिक्त महानिरीक्षक थापाले शिक्षण पेसा सबैभन्दा आदरणीय र जिम्मेवार पेसा भएकाले शिक्षक पेसामा शिक्षकसँग ज्ञान, सीप र दक्षता संगै दूरदृष्टि क्षमता, पहिचान शक्ति, राष्ट्रप्रतिको चिन्ता, जीवनप्रतिको संवेदनशीलता, पेसाप्रतिको इमान्दारिता भएमा भविष्यको लागी मानव जीवनका सर्वांगीण क्षेत्रमा सकारात्मक र जिम्मेवार  नागरिक विकास गर्न मद्दत पुग्ने बताउनुभयो । साथै स्कुलको गुणस्तरीय नतिजा तथा विधार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्नको लागि स्कुलमा सम्वद्व सम्पुर्ण पदाधिकारीहरु तथा शिक्षकहरू एक्यवद्व हुन अनुरोध गर्दै शिक्षकहरुलाई  आधुनिक शिक्षा  तथा प्रविधिको ज्ञान हुनुपर्नेमा समेत जोड दिनुभयो। निरीक्षणको क्रममा प्रहरी अतिरिक्त महानिरीक्षक थापाले नेपाल पुलिस स्कुल परिसर भित्रका विभिन्न स्थलहरूको निरीक्षण गर्नुका साथै स्कुलका सम्वधमा जानकारी लिनुभएको थियो । कार्यक्रममा काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक लालमणी आचार्य ,जिल्ला प्रहरी परिसर काठमाण्डौका  प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भुपेन्द्र बहादुर खत्री, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, नेपाल पुलिस स्कुल सामाखुशीका प्राचार्य, समादेशक र शिक्षक शिक्षिकाहरु लगायत प्रहरी कर्मचारीको उपस्थिति रहेको थियो ।

लैंगिक हिंसाको वर्तमान अवस्था र लैंगिक हिंसा नियन्त्रणमा सञ्जालको प्रभावकारिता बिषयक अन्तर्क्रिया कार्यक्रम सम्पन्न
२०८०-०८-१९

काठमाण्डौ, १९ मंसिर मिति २०८०-०८-१९ गते काठमाण्डौ उपत्यका प्रहरी कार्यालयको रानीहलमा यस कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा लैंगिक हिंसाको वर्तमान अवस्था र लैंगिक हिंसा नियन्त्रणमा सञ्जालको प्रभावकारिता बिषयक अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । हरेक वर्ष नोभेम्वर २५ देखि   डिसेम्वर १० तदनुसार (मंसिर ९ देखि २४) गतेसम्म  अन्तरराष्ट्रिय अभियानको रुपमा मनाउने लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान “लैंगिक हिंसा अन्त्यको सुनिश्चितता महिला र बालबालिकामा लगानिको ऐक्यबद्वता” भन्ने नाराका साथ मनाइएको यस वर्षको अभियान अन्तर्गत  उक्त कार्यक्रम सञ्चालन गरिएको थियो । यस उपत्यका प्रहरी कार्यालय महिला तथा वालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रका शाखा प्रमुख प्रहरी नायव उपरीक्षक कोपिला चुडालले लैंगिक हिंसाको वर्तमान अवस्था र चुनौतिहरु सम्बन्धमा प्रस्तुतीकरण प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा काठमाण्डौ उपत्यकाको तीनवटै जिल्लाको प्रतिनिधित्व गर्दै लैंगिक हिंसा नियन्त्रण सञ्जाल समिति काठमाण्डौका कोषाध्क्ष रशना ढकालले सञ्जालको गठन, उद्देश्य, प्रभावकारिता र वर्तमान अवस्थाको विषयमा आफ्नो मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरूले आफ्नो जिज्ञासा तथा राय सुझाव राख्नु भएको थियो । कार्यक्रममा उठेका जिज्ञासा तथा राय सुझावलाई सम्बोधन गर्नु हुँदै काठमाण्डौ उपत्यका प्रहरी कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले सामाजिक तथा मानवीय कार्य लैंगिक हिंसा विरुद्वको अभियानमा लाग्ने सम्पूर्ण महानुभाव, सञ्जालमा संलग्न संघ संस्थाहरुलाई धन्यवाद व्यक्त गर्दै नागरिक तथा सामाजिक संघ, संस्थाका प्रतिनिधिहरू पनि विना वर्दीका प्रहरी भएकाले सञ्जालको सक्रियतामा नेपाल प्रहरीले समन्वयात्मक तवरले सहकार्य गर्ने  तथा अगामी दिनका चुनौतीहरूलाई मध्यनजर गर्दै ३६५ दिन नै अभियानको रुपमा मनाउने बताउनुभयो । उहाँले समायानुकुल ऐन, कानून तथा नियमावलीमा परिमार्जन गर्नका लागि समेत भूमिका निर्वाह गर्ने प्रतिवद्वता व्यक्त गर्नुभयो । कार्यक्रममा प्रहरी नायव महानिरीक्षक लगायत वरिष्ठ प्रहरी अधिकृतहरु, लैंगिक हिंसा नियन्त्रण सञ्जालमा आवद्व विभिन्न संघ संस्थाका पदाधिकारी तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।   

मोटरसाइकल चोरीमा संलग्न ४ जना पक्राउ
२०८०-०८-१५

काठमाण्डौं, १५ मंसिर        मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा ललितपुरबाट ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूको साथबाट ४ वटा मोटरसाइकल बरामद भएको छ ।        ललितपुरका विभिन्न स्थानबाट गत बुधाबर राति ४ थान मोटरसाइकल चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा ४ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर हेटौंडा उपमहानगरपालिका-१३ घर भई काठमाण्डौ बौद्ध बस्ने बिजय श्रेष्ठ, मकवानपुर हेटौंडा उपमहानगरपालिका-८ बस्ने अमित लामा, रौतहट चन्द्रनिगाहपुर नगरपालिका-२ घर भई ललितपुर महानगरपालिका-९ बालकुमारी खरिबोट  बस्ने पञ्चलाल ब्लोन र मकवानपुर हेटौंडा उपमहानगरपालिका-७ फापरबारी घर भई ललितपुर लुभु बस्ने पासाङ लामा रहेका छन् ।        चोरीको अनुसन्धान गर्ने क्रममा मंसिर १३ गते राति ललितपुर महानगरपालिका-१५ खुमलटार हाईटस्थित गल्लीभित्र बा.प्र.०२-०३७ प ०८६२ नम्बरको मोटरसाइकल लुकाई राखेको अवस्थामा फेला पारी चारै जनालाई प्रहरीले पक्राउ गरेको थियो । थप सोधपुछको क्रममा उनीहरूको मिलोमतोमा बा.प्र.०२-०३७प०८६२ नम्बरको मोटरसाइकल ललितपुर बोधीग्रामबाट र बा.प्र.०३१ प ५८१४ नम्बरको मोटरसाइकल ईमाडोल रातामकै चोकबाट चोरी गरी उक्त स्थानमा लुकाई राखेको र बा.प्र.०२-०४५ प ९५९२ नम्बरको मोटरसाइकल हात्तिवनबाट  तथा बा. ८२ प ७१२४ नम्बरको मोटरसाइकल हरिसिद्धीबाट चोरी गरी ललितपुर महानगरपालिका-२३ गैरीगाउँ टोलस्थित खाली स्थानमा लुकाई राखेको अवस्थामा फेला पारी ४ वटै मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ । उनीहरूको साथबाट मोटरसाइकलको लक तोड्ने मास्टर चाबी, चाबी बिना डाईरेक्ट स्टार्ट गर्ने तारसहितको प्लक र साबुत चाबी १ थान र भाँचिएको चाबी १ थान र हेल्मेट १ थान बरामद भएको छ । उनीहरू उपर ललितपुर जिल्ला अदालतबाट चोरी सम्बन्धी कसुरमा म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ । 

चोरीमा संलग्न रहेको अभियोगमा ५ जना पक्राउ
२०८०-०८-१५

ललितपुर, १५ मंसिर        ललितपुर महानगरपालिका-२५ सैंबु आवास भैसेपाटी बस्ने डा.फाहद आलमको घरबाट अमेरिकी डलर, सुनको औठी, म्याकबुक, ल्यापटप, समेतका विभिन्न धनमाल चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।        पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका-१८ बिनायक कोलोनी भैंसेपाटी बस्ने २३ वर्षीय सविन रोक्का, काठमाण्डौ नागार्जुन नगरपालिका-८ भिमढुङ्गा घर भई ललितपुर पुल्चोक बस्ने २७ वर्षीय मनोज नेपाली, मकवानपुर बागमती गाउँपालिका-१ बन्जरे बस्ने २० वर्षीय राजु तामाङ भन्ने राजु भोलन र रामेछाप गोठगाउँ गाउँपालिका-७ गोठगाउँ घर भई  भक्तपुर बालकोट डेरा गरी बस्ने ३९ वर्षीय उमेश श्रेष्ठ रहेका छन् । उनीहरूमध्ये सबिन र राजु चोरी गर्ने तथा मनोज र उमेश चोरी गरेको अमेरिकी डलर सटही गर्ने गरेको अनुसन्धानको क्रममा खुल्न आएको छ ।  साथै प्रहरीले चोरी गरेका सामानहरु विभिन्न स्थानमा लुकाई छिपाई राखेको अवस्थामा फेला पारी बरामद गरेको छ । उनीहरू उपर जिल्ला अदालत ललितपुरबाट डाँका चोरी कसुरमा ५ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको छ ।        यसैगरी ललितपुर महानगरपालिका-१८ भैंसेपाटीस्थित  कामेश्‍वर यादवको घरकोठा तथा उनकै घरमा डेरा गरी बस्ने शोभा ढकालको कोठा समेतबाट करिब १९ लाख ४२ हजार ६ सय रूपैयाँ बराबरको नगद तथा जिन्सी धनमाल चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा दोलखा मेलुङ गाउँपालिका-३ शैलुङ्गेश्वरी घर भई ललितपुर बुंगमती बस्ने ४० वर्षीय अमर भन्ने अम्बर बहादुर तामाङलाई मंसिर ५ गते प्रहरीले पक्राउ गरेको छ । उनलाई अमेरिकी डलर ४ हजार ४ सय, भारतीय रूपैयाँ ५६ हजार ८ सय, सुनका जस्तो देखिने विभिन्न गरगहना लगायतका सामानसहित प्रहरीले पक्राउ गरेको हो ।         यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषधसहित पक्राउ
२०८०-०८-११

काठमाण्डौ, ११ मंसिर            काठमाण्डौ, चन्द्रागिरी नगरपालिका-२ स्थित चेक प्वान्टबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ करिब ९ ग्राम ५० मिलिग्रामसहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा झापा बुधबारे गाउँपालिका-५ बस्ने ३० वर्षीय सन्तोष तिवारी र सोही गाउँपालिका-३ बस्ने ३९ वर्षीय हरि बहादुर बिक रहेका छन् । भद्रपुरबाट काठमाण्डौतर्फ आउँदै गरेको बा.प्र०२-०३-००१ख ५५५० नम्बरको बसलाई प्रहरी प्रभाग ‍नागढुंगा र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नागढुङगाबाट संयुक्त रूपमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई अन्डरवेयरभित्र ३ वटा पोकामा लुकाई ल्याएको उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।  घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

कुवेत पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-०८-११

काठमाण्डौ, ११ मंसिर             वैदेशिक रोजगारीको लागि कुवेत पठाईदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाण्डौ महानगरपालिका-३ बसुन्धारा बस्ने पाल्पा रब्दिकोट नगरपालिका-४ घर भएका ३३ वर्षीय चक्र पोखरेललाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।              पोखरेलले १ जनालाई वैदेशिक रोजगारीको लागि कुवेत पठाई प्रतिष्ठित कम्पनीमा मासिक ६० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी १ लाख रूपैयाँ ठगी गरेकोले काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाण्डौ बसुन्धराबाट पक्राउ गरेको हो ।             उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।  

पोर्चुगल पठाईदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-०८-११

काठमाण्डौ, ११ मंसिर              वैदेशिक रोजगारीको लागि पोर्चुगल पठाइदिन्छु भन्दै १० लाख रूपैयाँ ठगी गरेको अभियोगमा काठमाण्डौ महानगरपालिका-२६ गोंगबु बस्ने रोल्पा गंगादेव गाउँपालिका-३ घर भएका ३९ वर्षीय निमराज डाँगीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।                      डाँगीले १ जनालाई वैदेशिक रोजगारीको लागि पोर्चुगल पठाई प्रतिष्ठित होटलमा मासिक १ लाख २० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेकोले काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाण्डौको गोंगबुबाट पक्राउ गरेको हो ।             उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।  

अनलाईनमार्फत ठगी गरेको अभियोगमा एक जना पक्राउ
२०८०-०८-११

काठमाण्डौ, ११ मंसिर             अनलाइनमार्फत १ लाख ३५ हजार रूपैयाँ ठगी गरेको अभियोगमा ललितपुर महालक्ष्मी नगरपालिका-३ ईमाडोल बस्ने सप्तरी कञ्चनरूप नगरपालिका-९ घर भएकी २७ वर्षीया सुजता चौधरीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।             चौधरीले आफू टर्किको नागरिक हो भनि फेसबुकमार्फत साथी बनाएकालाई कुरियरबाट मोबाइल, घडि, जुत्ता, सुनका गहना, मेकअप लगायतका सामानहरू पठाएको र उक्त सामान काठमाण्डौ एयरपोर्टमा आइपुगेकोले सामानको कस्टम, डेलीभरी र इन्सुरेन्स वापतको रकम तिर्नुपर्छ भन्दै विभिन्न व्यक्तिहरुको नामको बैंक खातामा रकम जम्मा गर्न लगाई ठगी गरेको भन्ने उजुरीको आधारमा काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।              उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ । 

का.उ.प्र.का. र का.म.न.पा. , च:मती जग्गा एकीकरण आयोजनाबीच सिसिटिभि जडान गर्ने सम्बन्धी समझदारी-पत्रमा हस्ताक्षर
२०८०-०८-०६

काठमाण्डौ, ६ मंसिर        काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरी र काठमाण्डौ महानगरपालिका, च:मती जग्गा एकीकरण आयोजनाबीच काठमाण्डौ महानगरपालिका, च:मती जग्गा एकीकरण क्षेत्रभित्र सिसिटिभि क्यामेरा जडान, सञ्चालन मर्मत सम्भार र सूचनाको उपयोग गर्ने सम्बन्धी समझदारी-पत्रमा हस्ताक्षर भएको छ ।        काठमाण्डौ उपत्यका प्रहरी कार्यालयमा बुधबार आयोजित एक कार्यक्रमबीच काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीको तर्फबाट कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापा र काठमाण्डौ महानगरपालिका, च:मती जग्गा एकीकरण आयोजनाको तर्फबाट आयोजना प्रमुख निर्मल राज बरालले रु.१,०१,२३,१२०/६६ (अक्षरेपी एक करोड एक लाख तेईस हजार एक सय बिस र पैसा छैसठ्ठी मात्र) रकमको सिसिटिभी जडान गर्ने उक्त समझदारी-पत्रमा हस्ताक्षर गर्नुका साथै समझदारी-पत्र आदान प्रदान समेत गर्नुभयो ।        सो कार्यक्रममा काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले  सिसिटिभि क्यामेरा जडानले शान्ति सुरक्षाका साथै आपराधिक क्रियाकलाप नियन्त्रणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्दै आउँदा दिनमा समेत च:मती जग्गा एकीकण आयोजनासँग सहकार्य गर्दै जाने बताउनुभयो ।        काठमाण्डौ क्षेत्रभित्र शान्ति सुरक्षा, अमन चयन, पारदर्शी शहरी व्यवस्थापन, अपराध नियन्त्रण, दुर्घटना न्यूनीकरण, फोहरमैला व्यवस्थापन, फुटपाथ अतिक्रमण, प्रदुषण न्यूनीकरण, सार्वजनिक सम्पत्ति संरक्षण, नदी किनारा तथा साँस्कृतिक एवम् सम्पदा क्षेत्रहरूको संरक्षण, सार्वजनिक यातायात व्यवस्थापन, रात्रीकालिन आवागमन व्यवस्थापन, ट्राफिक जाम तथा अन्य अनैतिक गतिविधि नियन्त्रण तथा समग्र शहरी सुशासनसँग सम्बन्धित विषयहरूमा सहकार्य गर्न सिसिटिभि जडान गराउने सम्झौता-पत्रमा उल्लेख  गरिएको छ । साथै सिसिटिभि जडान गरिने विभिन्न स्थानहरू दुवै पक्षको सहमतिमा एकिन गरिने तथा जडान हुने सिसिटिभि प्रणाली नेपाल प्रहरीले निर्धारण गरेको मापदण्ड अनुसारको हुने समेत सम्झौता-पत्रमा उल्लेख गरिएको छ ।        कार्यक्रममा काठमाण्डौ महानगरपालिका, च:मती जग्गा एकीकरण आयोजनाका पदाधिकारीहरू एवम् वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।

स्रोत नखुलेको रकमसहित पक्राउ
२०८०-०८-०४

काठमाण्डौ, ४ मंसिर            काठमाण्डौ महानगरपालिका-१४ बल्खु चोकबाट स्रोत नखुलेको नगद ४ लाख ९ हजार रूपैयाँसहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाण्डौ ठमेल डेरा गरी बस्ने चीन घर भएका ३८ वर्षीय झाङ्ग विङ्ग र काठमाण्डौ नैकाप डेरा गरी बस्ने बानियाँटार घर भएकी २५ वर्षीया सरिता खड्का रहेका छन् । प्रहरी प्रभाग बल्खुबाट खटिएको प्रहरीले बा.प्र ०२-०४४ प २६११ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई उक्त नगदसहित पक्राउ गरेको हो ।            यस सम्बन्धमा प्रहरीले आवश्यक अनसुन्धान गरिरहेको छ ।

जुवातास खेल्दा खेल्दै काठमाण्डौबाट २४ जना पक्राउ
२०८०-०८-०४

काठमाण्डौ, ४ मंसिर            काठमाण्डौ महानगरपालिका-२६ पवित्रनगरस्थित प्रविन गेष्ट हाउसको २०१ नम्बर कोठामा जुवातास खेलिरहेको अवस्थामा पाँचथर फालेलुङ गाउँपालिका-८ घर भएका ४२ वर्षीय सुरेन्द्र जबेगु समेत ९ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । सूचनाको आधारमा प्रहरी वृत्त महाराजगञ्ज र प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ‍‍‍‍‍‍‍‍६२ हजार ४ सय रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो ।  साथै सोही गेस्ट हाउसको पार्किङमा ओखर (जुवा) खेलिरहेको अवस्थामा पाँचथर फाल्गुनन्द गाउँपालिका-४ घर भएकी ४० वर्षीया एन्जिला लिम्बु समेत १० जनालाई नगद ४९ हजार ५ सय ५० रूपैयाँ र ८ गेडा ओखरसहित सोही प्रहरी टोलीले आइतबार साँझ पक्राउ गरेको छ ।            काठमाण्डौ महानगरपालिका-१३ कालिमाटीस्थित तरकारी बजारको सडक पेटीमा जुवातास खेलिरहेको अवस्थामा गोर्खा घर भई हाल कालिमाटी डेरा गरी बस्ने ३५ वर्षीय आसमान परियार समेत ५ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३९ हजार रूपैयाँ र २ बुक ताससहित पक्राउ गरेको हो ।            सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनसुन्धान गरिरहेको छ ।

चाडपर्व लक्षित विशेष सुरक्षाको समिक्षा र आगामी सुरक्षा चुनौति सम्बन्धी निर्देशन कार्यक्रम सम्पन्न
२०८०-०८-०२

काठमाण्डौ, ०२ मंसिरकाठमाण्डौ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाद्वारा शनिबार विहान नेपाल प्रहरी प्रधान कार्यालय नक्सालको अडिटोरियम  हलमा  यस कार्यालय तथा मातहत कार्यालयका कार्यालय प्रमुख, जुनियर प्रहरी अधिकृत तथा हबल्दार मेजर(ह.मे.) सम्मका प्रहरी कर्मचारीलाई चाडपर्व लक्षित विशेष सुरक्षाको समिक्षा र आगामी दिनमा हुनसक्ने सुरक्षा चुनौति सम्बन्धी निर्देशन कार्यक्रम सम्पन्न भएको छ ।निर्देशन कार्यक्रमलाई सम्बोधन गर्नु हुदै प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले उपत्यका प्रहरीको कार्यशैली राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतिबिम्बको रुपमा रहने हुनाले उपत्यका प्रहरीले अझै उत्कृष्ठ ढंगले कार्यसम्पादन गर्नु पर्ने बताउनु भयो।चाडपर्वको समयमा प्रहरी कर्मचारीले उच्च व्यवसायिकताका साथ सुरक्षा प्रदान गरेकोमा धन्यवाद व्यक्त गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक थापाले निकट भविष्यमा हुनसक्ने सुरक्षा चुनौतीलाई निष्तेज गर्न मातहतका कर्मचारीसंग  समन्वय र सहकार्य गर्दै स्वतन्त्र,निष्पक्ष र भयरहित तवरले प्रहरी कार्य गर्दै आफ्नो व्यवसायिकता प्रस्तुत गर्न पनि निर्देशन दिनु भयो ।      गैरकानूनी क्रियाकलापलाई कडाईका साथ कानूनी दायरामा ल्याउन तथा भविष्यको चुनौतिलाई मध्यनजर गरी  सूचना संकलनमा प्रभावकारीरूपमा लागी प्राप्त सूचनालाई प्रविधि र प्रहरीको परिचालन गरी ‘सुरक्षित उपत्यका, हाम्रो प्रतिवद्दता’ अभियान अन्तर्गत काठमाण्डौ उपत्यकालाई सुरक्षित बनाउन निर्देशन दिनु भयो ।कार्यक्रममा यस कार्यालय तथा मातहत कार्यालयका प्रहरी नायव महानिरीक्षकहरु, प्रहरी वरिष्ठ उपरीक्षकहरू, प्रहरी उपरीक्षकहरू, प्रहरी वृत्त तथा प्रभागका कार्यालय प्रमुखहरू तथा अन्य दर्जाका प्रहरी कर्मचारी गरी जम्मा ४५३ प्रहरी कर्मचारीको उपस्थिति रहेको थियो । 

जुवातास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट १७ जना पक्राउ
२०८०-०८-०१

काठमाण्डौ, २८ कात्तिक            काठमाण्डौ, शंखरापुर नगरपालिका-१ नाङ्लेभारे बस्ने ५० वर्षीय विनानाथ दंगालको टहरामा जुवातास खेलिरहेको अवस्थामा दंगाल समेत ८ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी नाङ्लेभारेबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ७६ हजार ८ सय ३५ रुपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो । यसैगरी नाङ्लेभारेस्थित शिव मन्दिरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-१ ढुङ्गाना गाउँ बस्ने ४२ वर्षीय मधु रमालसमेत ९ जनालाई गएराति  प्रहरीले पक्राउ गरेको छ । सोही चौकीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४० हजार ८ सय ५५ रुपैया र १ बुक ताससहित पक्राउ गरेको हो ।

प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाद्वारा जिल्ला प्रहरी परिसर भक्तपुरको निरीक्षण सम्पन्न
२०८०-०७-२२

काठमाण्डौ,कार्त्तिक २२काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रमुख दिपक थापाद्वारा बुधबार जिल्ला प्रहरी परिसर भक्तपुरको  निरीक्षण तथा निर्देशन कार्यक्रम  सम्पन्न भएको छ । जिल्ला प्रहरी परिसर भक्तपुरको विभिन्न शाखाहरुको निरीक्षण गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक थापाले नागरीकमैत्री व्यवहार र प्रचलित कानून बमोजिम शान्ति, सुरक्षा तथा अमन चयन कायम गर्ने गरी प्रहरीको सेवा प्रवाह गर्न निर्देशन दिनु भयो ।साथै प्रहरी कर्मचारीले नेपाल प्रहरीको सञ्चार माध्यम (मिडिया) सम्बन्धी नीति, २०६० बमोजिम सामाजिक सञ्जालको प्रयोग गर्दा बिशेष ध्यान पुर्‍याउन निर्देशन दिनु भयो । प्रहरी कर्मचारीहरुलाई उच्च मनोवलका साथ खटिई आपराधिक कार्यमा संलग्न व्यक्तिहरु उपर कठोर भई प्रस्तुत हुन तथा हदैसम्मको कानूनी कारबाही गर्न समेत निर्देशन दिनु भएको थियो ।

श्रोत नखुलेको २६ लाख ५७ हजार रकमसहित दुई जना पक्राउ
२०८०-०७-२२

काठमाण्डौ, २२ कात्तिक             काठमाण्डौ महानगरपालिका-२४ इन्द्रचोकबाट श्रोत नखुलेको नगद २६ लाख ५७ हजार रूपैयाँसहित २ जनालाई मङ्गलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।            पक्राउ पर्नेहरूमा बर्दिया गेरूवा गाउँपालिका-२ घर भई हाल काठमाडौं जडिबुटी बस्ने २८ वर्षीय पुष्प सोडारी र काठमाण्डौ महानगरपालिका-१० बिजुलीबजार बस्ने ३९ वर्षीय अभिषेक अग्रवाल रहेका छन् । प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले सोडारीलाई उक्त रकमसहित पक्राउ गरी थप अनुसन्धानको क्रममा उक्त रकम अभिषेकबाट लिएको भनी खुल्न आएपछि उनलाई समेत प्रहरीले पक्राउ गरेको हो ।             यस सम्बन्धमा प्रहरीले म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको छ ।

काठमाडौंका विभिन्न स्थानबाट जुवातास खेल्दा खेल्दै एकै रातमा १३ जना पक्राउ
२०८०-०७-२२

काठमाण्डौ, २२ कात्तिक             काठमाण्डौमा जुवा खेल्दै गरेको अवस्थामा एकै रातमा १३ जनालाई प्रहरीले मङ्गलबार पक्राउ गरेको छ ।             काठमाण्डौ, नागार्जुन नगरपालिका-२ ठुलोभर्‍याङस्थित गैरिगाउँ नजिक डेरा गरी बस्ने सिन्धुपाल्चोक तातोपानी घर भएकी ३७ वर्षीया साङ्गु शेर्पाको कोठामा जुवातास खेलिरहेको अवस्थामा शेर्पासमेत ६ जनालाई मङ्गलबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ११ हजार २ सय रूपैयाँ र ६ बुकतास सहित पक्राउ गरेको हो ।             यसैगरी काठमाण्डौ, महानगरपालिका-४ धुम्बाराही पिपलबोटस्थित सुन्दर कार्कीको टहरामा जुवातास खेल्दै गरेको अवस्थामा दोलखा भिमसेन नगरपालिका-५ घर भई काठमाण्डौ काँडाघारी बस्ने ४० वर्षीय किरन थापा समेत ७ जनालाई मङ्गलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ९२ हजार रुपैयाँ, २० हजार रूपैयाँको बैंक चेकथान-१ र ११ बुक ताससहित पक्राउ गरेको हो । 

प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाद्वारा जिल्ला प्रहरी परिसर भक्तपुरको निरीक्षण सम्पन्न
२०८०-०७-२२

काठमाण्डौ,कार्त्तिक २२काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रमुख दिपक थापाद्वारा बुधबार जिल्ला प्रहरी परिसर भक्तपुरको  निरीक्षण तथा निर्देशन कार्यक्रम  सम्पन्न भएको छ । जिल्ला प्रहरी परिसर भक्तपुरको विभिन्न शाखाहरुको निरीक्षण गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक थापाले नागरीकमैत्री व्यवहार र प्रचलित कानून बमोजिम शान्ति, सुरक्षा तथा अमन चयन कायम गर्ने गरी प्रहरीको सेवा प्रवाह गर्न निर्देशन दिनु भयो ।साथै प्रहरी कर्मचारीले नेपाल प्रहरीको सञ्चार माध्यम (मिडिया) सम्बन्धी नीति, २०६० बमोजिम सामाजिक सञ्जालको प्रयोग गर्दा बिशेष ध्यान पुर्‍याउन निर्देशन दिनु भयो । प्रहरी कर्मचारीहरुलाई उच्च मनोवलका साथ खटिई आपराधिक कार्यमा संलग्न व्यक्तिहरु उपर कठोर भई प्रस्तुत हुन तथा हदैसम्मको कानूनी कारबाही गर्न समेत निर्देशन दिनु भएको थियो ।

अवैध रूपमा बाह्य मुलुक लैजान लागेको युरोसहित एक जना पक्राउ
२०८०-०७-२१

काठमाण्डौ, २० कात्तिक            अवैध रूपमा बाह्य मुलुक लैजान लागेको युरो ८ हजार २ सय ३० सहित नेपाली मुलका नेदरल्याण्ड्स नागरिक ३५ वर्षीय जोग गुरूङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।            नेपाल एयरलाईन्सको उडानद्वारा काठमाण्डौबाट दुबई हुँदै नेदरल्याण्ड्स जान लागेका उनलाई उक्त युरोसहित त्रिभुवन अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान होल्ड व्यागेज चेकिङ एरियाबाट प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट युरो ५ सय दरको ४ थान,  २ सय दरको ११ थान, १ सय दरको ३ थान, ५० दरको ७३ थान, २० दरको ३ थान र १० दरको २ थान बरामद भएको हो ।            यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ ।

भन्सार छलिका मोबाइल लगायतका सामानसहित एक जना पक्राउ
२०८०-०७-२१

काठमाण्डौ, २० कात्तिक            अवैध रूपमा भन्सार छलि लैजान लागेको करिब ९ लाख १७ हजार रूपैयाँ मूल्य बराबरको मोबाइल लगायतका सामानसहित धनुषा जनकपुर उपमहानगरपालिका-५ ठेगाना भएका ३० वर्षीय मोहमद सजिबुल रेनलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको  छ ।            कतार एयरलाईन्सको उडानद्वारा दोहा कतारबाट काठमाण्डौ आएका उनलाई अवैध रूपमा लुकाई छिपाई भन्सार छलि गरी लैजान लागेको मोबाइल लगायतका सामानसहित फेला पारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट उक्त रूपैयाँ बराबरको आइफोन लगायत विभिन्न कम्पनीका मोबाइल ७ थान, स्मार्ट वाच ५ थान, वायरलेस एयर पड्स २ थान, एयरफोन १ थान बरामद भएको छ ।            यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ ।

नक्कली नोट र फोटोकपी मेसिनसहित गुरूङ पक्राउ
२०८०-०७-२१

काठमाण्डौ, २० कात्तिक            काठमाण्डौ महानगरपालिका-६ सरस्वतीनगरबाट नक्कली नोट र नक्कली नोट फोटोकपी गर्ने मेसिनसहित काठमाण्डौ महानगरपालिका-६ महांकाल डेरा गरी बस्ने डोल्पाका २९ वर्षीय कार्मा लुप्डुप गुरूङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।            उक्त स्थानमा नक्कली नोटको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले गुरूङलाई पक्राउ गरेको हो । उनको कोठाबाट १ हजार दरको २ सय २५ थान नक्कली नोट, नक्कली नोट फोटोकपी गर्ने मेसिन १ थान, डिजिटल तराजु १ थान, नगद २६ हजार ८ सय रूपैयाँ, ल्यापटप १ थान र नोट छाप्न प्रयोग हुने मसिको बट्टा ४ थान बरामद भएको छ ।             यस सम्बन्धमा प्रहरी वृत्त बौद्धबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

नक्कली कागजात बनाउने चार जना पक्राउ
२०८०-०७-२१

काठमाण्डौ, २० कात्तिक            भिजिट भिसामा विदेश पठाई दिने भनी नक्कली कागजातहरू बनाएको अभियोगमा ४ जनालाई काठमाण्डौ उपत्यकाको विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ ।            पक्राउ पर्नेहरूमा नवलपरासी पूर्व मध्यबिन्दु नगरपालिका-५ घर भई काठमाण्डौ बालाजु बस्ने ४५ वर्षीय जयराम श्रेष्ठ, गोरखा सानचोक गाउँपालिका-८ घर भई काठमाण्डौ बसुन्धारा बस्ने ३४ वर्षीय भक्त बहादुर थापा, काठमाण्डौ  महानगरपालिका-१ नक्साल बस्ने ३८ वर्षीय दिपक केसी र सल्यान कालीमाटी रामपुर गाउँपालिका-३ घर भई काठमाण्डौ नागार्जुन बस्ने ४२ वर्षीय बल बहादुर रावत रहेका छन् ।            भिजिट भिषामा विदेश जाने व्यक्तिहरूको कागजात जाँच गर्ने क्रममा फेला परेका राहदानीसहितका कागजातहरू १ हजार ३२ थान तथा विभिन्न नक्कली कागजात २ सय ९६ थान त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल सुरक्षा कार्यालयले थप अनुसन्धानको लागि काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवन पठाएको थियो । अनुसन्धानको क्रममा उक्त कागजातहरू नक्कली भएको पुष्टी हुन आएको र उनीहरू नक्कली कागजातहरू बनाउने विभिन्न भूमिकामा रहेको खुल्न आएपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।            उनीहरूबाट विभिन्न कलेज तथा विद्यालयका शैक्षिक प्रमाण र लेटरप्याड, जन्मदर्ता कागजातहरु, विभिन्न बैंकहरूको स्टेटमेण्ट तथा चेक, HSEB लेखिएको होलो ग्राम, CTEVT को स्टिकर, सवारी चालक अनुमतिपत्र, राहदानी, निर्वाचन पत्र, भारत सरकारको आधार कार्ड नागरिकताका कागजातहरू, विभिन्न सरकारी तथा निजि कार्यायहरूको छापहरु, लेमिनेसन मेसिन १ थान, ल्यापटप १ थान, प्रिन्टर २ थान र पेन्ड्राईभ २ थान बरामद भएको छ ।            उनीहरूलाई लिखत सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागि प्रहरी वृत्त महाराजगंज काठमाण्डौ पठाइएको छ ।

प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
२०८०-०७-१६

काठमाण्डौ, १६ कात्तिक        तालुक गृह मन्त्रालय (सचिवस्तर) को  मिति २०८०।०७।१३ गतेको निर्णयानुसार प्रहरी नियमावली २०७१ (संसोधन सहित) को नियम १२९ उपनियम २ बमोजिम पदोन्नत हुनु भएका प्रहरी निरीक्षकहरुलाई काठमाण्डौं उपत्यका प्रहरी कार्यालयमा आज बिहीबार आयोजित कार्यक्रमकाबीच काठमाण्डौं उपत्यका प्रहरी कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न भएको छ ।        सुशोभन समारोहलाई सम्बोधन गर्नुहुर्दै प्रहरी अतिरिक्त महानिरीक्षक थापाले पदोन्नति हुनु भएका प्रहरी अधिकृतहरूले पदोन्नतिसँगै काँधमा थपिएको जिम्मेवारी अनुरुप पदीय मर्यादा रहने गरी संगठनको श्रीवृद्धि हुने कार्य गर्दै नेपाल राष्‍ट्र तथा नेपाल प्रहरीले राखेका अपेक्षा पूरा गर्नुका साथै राज्यले खटाएको स्थानमा कटिवद्ध रुपमा कार्य गर्न निर्देशन दिनुभयो ।        उक्त अवसरमा पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै  प्रहरी निरीक्षक चक्र बहादुर खड्का क्षेत्रीले पदोन्नतिले प्रहरी संगठनले आफूहरुको मूल्याङकन भएकोमा धन्यवाद दिदै थप जिम्मेवारीलाई कुशलतापूर्वक उच्च अनुशासनमा रही  प्रहरी सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो  । कार्यक्रममा प्रहरी नायव महानिरिक्षक, सिनियर प्रहरी अधिकृतहरू तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

अवैध रूपमा भन्सार छलि सुनको कारोबार गर्ने पाँच जना पक्राउ
२०८०-०७-१४

काठमाण्डौ, १४ कात्तिक        अवैध रूपमा भन्सार छलि सुनको कारोबार गरेको अभियोगमा ५ जनालाई काठमाण्डौ महानगरपालिका-९ सिनामंगल शम्भुमार्गबाट आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।        पक्राउ पर्नेहरुमा भोजपुर सालपासिलिछो गाउँपालिका-४ ठेगाना भएका २४ वर्षीय अमृतधन राई, सुनसरी ईनरूवा नगरपालिका-९ ठेगाना भएका ४४ वर्षीय नजिर मन्सुर, धनुषा हंसपुर नगरपालिका-८ ठेगाना भएका ४९ वर्षीय कारी ईसार केवट, खोटाङ रूपाकोट मजुवागढी नगरपालिका-१५ ठेगाना भएका २८ वर्षीय अर्जुन भट्टराई र गोरखा गण्डकी गाउँपालिका-२ घर भई हाल काठमाण्डौ महानगरपालिका-१६ बालाजु बस्ने ३० वर्षीय अनिष थापा रहेका छन् ।        कतारबाट आएका केही व्यक्तिहरूले भन्सार छलि अवैध रूपमा सुन ल्याई कारोबार गर्ने गरेको भन्ने सूचनाको आधारमा काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवन काठमाण्डौबाट खटिएको प्रहरीले उनीहरूलाई जम्मा २ सय १४ ग्राम ३६ मिलिग्राम तौल भएको सुनको ढिक्का ३ थान, जम्मा ५० ग्राम ०१ मिलिग्राम तौल भएको सिक्री ३ थान र नगद १ लाख १० हजार रूपैयाँसहित पक्राउ गरेको हो ।      उनीहरूलाई भन्सार ऐन, २०६४ अन्तर्गतको कसूरमा आवश्यक कारबाही तथा अनुसन्धानका लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचर काठमाण्डौ पठाइएको छ । 

जुवातास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट १६ जना पक्राउ
२०८०-०७-१४

काठमाण्डौ, १४ कात्तिक        काठमाण्डौ महानगरपालिका-२६ सामाखुसी टाउन प्लानिङ बस्ने अप्सरा मल्लको घरमा जुवातास खेलिरहेको अवस्थामा म्याग्दी घोरेपानी घर भई हाल काठमाण्डौ बुढानिलकण्ठ नगरपालिका नारायणथान बस्ने २६ वर्षीया यम कुमारी पुन समेत ८ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद १ लाख ९९ हजार रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।       यसैगरी काठमाण्डौ, तारकेश्वर नगरपालिका-८ जरङ्खु बस्ने नुवाकोट किस्पाङ्ग गाउँपालिका-२ घर भएका ३९ वर्षीय पूर्ण बहादुर रानाको खाजा घरभित्र जुवातास खेलिरहेको अवस्थामा राना समेत ८ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जुवा खेलिरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद १९ हजार ५ सय रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।

चितुवाको छाला जस्तो देखिने अखेटोपहारसहित तीन जना पक्राउ
२०८०-०७-१४

काठमाण्डौ, १४ कात्तिक        काठमाण्डौ महानगरपालिका-१६ नयाँबजारबाट बयस्क चितुवाको छालाजस्तो देखिने अखेटोपहार २ थानसहित नुवाकोट ककनी गाउँपालिका-३ घर भएका ७४ वर्षीय कृष्ण प्रसाद ढुङ्गाना समेत ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।        उक्त स्थानमा संरक्षित वन्यजन्तु अखेटोपहारको अवैध रूपमा ओसारपसार तथा खरिद बिक्री भइरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले शंकास्पद रूपमा हिँडिरहेका उनीहरूलाई उक्त अखेटोपहारसहित पक्राउ गरेको हो ।        यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

लुटपाट गरेको अभियोगमा तीन जना पक्राउ
२०८०-०७-१३

काठमाण्डौ, १२ कात्तिक        काठमाण्डौ महानगरपालिका-२७ ठमेलस्थित वाल्डो होटलमा कात्तिक ९ गतेदेखि बस्दै आएका २ जना भारतीय नागरिकको नगद लुटपाट गरेको अभियोगमा काठमाण्डौ महानगरपालिका-१६ माछापोखरीस्थित किङ्स अकबरे मम: रेष्टुरेन्टका संचालक नुवाकोट ककनी गाउँपालिका-७ घर भएका २७ वर्षीय उमेश लामासमेत ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।        उनीहरूलाई ग्रिन टि सस्तोमा मिलाईदिन्छु भन्दै ६ जनाको समूहले होटल अगाडिबाट ट्याक्सीमा सोही महानगरपालिका-१६ माछापोखरीस्थित रोयल लाउन्ज एण्ड बारमा पुर्‍याई कुटपिट गरी पीडितसँग रहेको ४९ हजार नेपाली र ५० हजार भारतीय रूपैयाँ ट्रान्सफर गरी लुटपाट गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई बालाजु चोकबाट बा.८६ प २१४२ नम्बरको मोटरसाइकल, नगद ५९ हजार ३ सय ५५ रूपैयाँ, मोवाईल ४ थान र एनटिसी तथा एनसिएलको  १२ थान सिमकार्डसहित पक्राउ गरेको हो ।        यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

“नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन (Police Baton) २०८०” अन्तर्गत काठमाण्डौ उपत्यका प्रहरी कार्यालयको निरीक्षण तथा अनुगमन सम्पन्न
२०८०-०६-२४

काठमाण्डौ, २४ असोज        नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन (Police Baton) २०८० को पूर्व निर्धारित कार्यक्रम अनुसार २०८०-०६-२४ गते बुधबार काठमाण्डौ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीको अनुगमन तथा निरीक्षण कार्यक्रम सम्पन्न भएको छ ।        “कार्यदक्षता मूल्याङकन (Police Baton) २०८०” केन्द्रीय मूल्याङ्कन समितिका संयोजक प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारी सहितको मूल्याङकन टोलीबाट कार्यालयको निरीक्षण तथा अनुगमन गरिएको हो । निरीक्षणको क्रममा कार्यालयको भौतिक पुर्वाधारको अवस्था, उपलब्ध श्रोत साधनहरूको व्यवस्थापन, अपराध अनुसन्धान तथा नियन्त्रण, प्रहरी कार्य र परिचालन कक्ष, मानवश्रोत व्यवस्थापन लगायत विभिन्न शाखाहरूको काम कारवाहीको निरीक्षण भएको थियो ।        निरीक्षण पश्चात प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीले प्रहरी कर्मचारीहरुका जिज्ञासा सम्बोधन गर्नु हुँदै काठमाण्डौ उपत्यका अन्तर्गत खटिने प्रहरी कर्मचारीहरू देशकै नमूना प्रहरी हुनुपर्ने हुँदा अझै व्यवसायिक भई कार्य सम्पादन गर्न साथै प्रहरी कार्य गर्दा बोली र व्यवहारमा अत्यन्त नरम तथा कानून पालनामा  कठोर हुन उपस्थित बरिष्ठ अधिकृत तथा जवानहरुलाई निर्देशन समेत दिनुभयो । उक्त कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक ओम बहादुर रानाले काठमाण्डौ उपत्यका प्रहरी कार्यालय तथा मातहत समेतको काम कारवाहीको सम्बन्धमा प्रस्तुतीकरण गर्नु भएको थियो ।  

का.उ.प्र.का रानीपोखरीद्वारा २०८० सालको चाडपर्व लक्षित सुरक्षा योजना जारी गरिएको
२०८०-०६-२२

काठमाण्डौ, २१ असोज         नेपाली हिन्दुहरुको महान चाडपर्व बडा दशैँ, शुभ दीपावली, नेपाल सम्वत र छठ पर्वको पावन अवसरमा ‘सुरक्षित उपत्यका; हाम्रो प्रतिवद्दता’ अभियानलाई साकार पार्न काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीबाट मातहत काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ,  काठमाण्डौ, ललितपुर र भक्तपुरका ३ वटा परिसरहरु तथा काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय, मिनभवनबाट संयुक्तरुपमा तयार पारिएको सुरक्षा योजना अनुरुप प्रविधिसमेतको उच्चतम प्रयोग गरी अति प्रभावकारी तवरले प्रहरी जनशक्ति परिचालन गरी समाजमा शान्ति, सुरक्षा, अमय चयन कायम गरिने छ । क)        चाडपर्वमा शान्ति, सुरक्षा तथा अमन चयन कार्यका लागि खटिने प्रहरी:१.    यो सुरक्षा योजना मिति २०८०।०६।२१ गतेदेखि बडा दशैँ, शुभ दीपावली, नेपाल सम्वत र छठपर्वसम्म कायम रहने छ ।२.   काठमाण्डौ उपत्यकास्थित ३ वटै जिल्लाहरुमा पैदल गश्ती, मोवाइल गश्ती, क्यूआरटि, सिआरभी, कर्डन, सादा पोशाक, पिकेटिङ, स्ट्राइकिङ, रिजर्भ, आकश्मिक चेकजाँच, CCTV, Walk Through Gate, Drone, Body worn camera बाट निगरानी, ट्राफिक व्यवस्थापन, विपद व्यवस्थापन लगायतका Pro-active Policing को माध्यमद्वारा चाडपर्वमा प्रभावकारी सुरक्षा व्यवस्था गरिने छ ।३.     बैंक, वित्तीय संस्था तथा नगद र बहुमूल्य गर-गहनाको कारोवार हुने स्थानहरुमा सादा पोशाकमा सञ्‍चारका साधन र साना हतियारसहितका प्रहरी सुरक्षाकर्मी खटाई सुरक्षा प्रदान गरिने छ ।४.    यात्रुहरुलाई सहजता प्रदान गर्ने उद्देश्यले उपत्यकाका विभिन्न १७ (काठमाण्डौ-१२, ल.पु.-३ र भ.पु-२) स्थानमा जनपद प्रहरी र १४ स्थानमा ट्राफिक प्रहरीद्वारा गरी जम्मा ३१ स्थानमा यात्रु सहायता कक्ष (Help Desk) स्थापना गरिएको छ ।५.   काठमाण्डौ उपत्यकाका विभिन्न स्थानहरु, मल- मार्टहरु र मुख्य-मुख्य नाकाहरुमा आधुनिक प्रविधिका साथै केनाइन    कार्यालयबाट तालीमप्राप्‍त कुकुरबाट चेकजाँच (Dog sniffing and search) गरिनेछ ।६.     उक्त कार्यका लागि ५८३३ जना प्रहरी सुरक्षाकर्मीहरु परिचालित हुनेछन् ।ख)       सवारी आवागमन कार्यका लागि खटिने ट्राफिक प्रहरी:          १. सवारी साधनको टिकटको कालो बजारी बढ्न सक्ने, एउटै टिकट पनि धेरैजनालाई बेचिन सक्ने, आरक्षित सिट अन्य व्यक्तिले ओगट्न सक्ने, यात्रुको चाप अनुसार सवारी साधनको व्यवस्थापनमा कठिनाई हुन सक्ने, छतमा यात्रु र सामान राखिन सक्ने, अपरिचित व्यक्तिले नशालु पदार्थ खुवाई लुट्न सक्ने, लामोदुरीका सवारी साधनहरुमा दुई वटा चालक नराखिन सक्ने, मादक पदार्थ सेवन (मापसे), लागु पदार्थ सेवन (लापसे) गरी सवारी साधन चलाउन सक्ने, तीब्र गतिमा सवारी साधन चलाउन सक्ने जस्ता कार्यबाट सर्वसाधारण यात्रुहरुमा पर्न जाने असुविधा तथा दुर्घटनालाई न्यूनीकरण गरी यात्रुहरुको आवागमन सुरक्षित गराउने ।            २.  उक्त कार्यका लागि १८०० जना ट्राफिक प्रहरी सुरक्षाकर्मीहरु परिचालित हुनेछन् ।ग)        चाडपर्वमा जम्मा खटिने प्रहरी सुरक्षाकर्मीहरुको संख्या ७६३३ हुनेछ ।प्रहरी सम्पर्कको लागि:-•           कुनै अवाञ्छित गतिविधि देखिएमा तत्कालै १०० मा प्रहरीलाई खबर गरौँ,•           प्रहरी कन्ट्रोल- १००, ०१-४२२८४३५ र ९८५१२८३०२६,•           ट्राफिक प्रहरी कन्ट्रोल-१०३,•           महिला तथा बालबालिका खोज तलास केन्द्र, भृकुटीमण्डप -१०४ ।साथै चाडपर्वमा निम्न बमोजिम सुरक्षा सतर्कता अपनाई आफू, आफ्नो परिवार, छिमेक, समाज, र समग्र काठमाण्डौ उपत्यकालाई सुरक्षित उपत्यका बनाउने अभियानमा हातेमालो गर्न हुन सम्पूर्ण आदरणीय नागरिकहरुमा  काठमाण्डौ उपत्यका प्रहरी कार्यालय हार्दिक अनुरोध गर्दछ:निम्न:१.         अपरिचित व्यक्तिले दिएको खानेकुरा नखाऔँ ।२.         नगद, वहुमूल्य सामान, गर गहना र महँगा मोवाइल फोनसहित भीडभाडमा सकेसम्म नजाऔँ ।३.         घर तथा पसल बाहिर जानुपरेमा घरको झ्याल ढोका राम्रोसँग बन्द गरेको छ / छैन एकिन गरौँ र सकेसम्म साइरन जडित ताल्चा जडान गरौँ ।४.         लामो समय घर पसल छोडी बाहिर जानु परेमा छिमेकी तथा स्थानीय प्रहरीलाई खवर गर्ने गरौँ ।५.         सकेसम्म डिजिटल प्रविधिमार्फत रकमको कारोवार गर्ने गरौँ । आफ्नो मोवाइल बैंकिङको One time password (OTP) हरदम गोप्य राखौँ । चेकबाट कारोबार गर्नु पर्ने अवस्थामा आफ्नो रकमले खाम्ने अङ्कको मात्र चेक जारी गर्ने गरौँ ।६.         सामाजिक सञ्‍जालमा आफ्नो व्यक्तिगत तथा यात्राको विवरण अद्यावधिक गर्ने कार्य कदापि नगरौँ ।७.         लङ्गुरबुर्जा, तास, जुवा लगायतका हारजित हुने खेल खेल्दा उठिबास हुन सक्नेतर्फ सचेत बनौँ ।८.         मादक पदार्थ सेवन (मापसे), लागु पदार्थ सेवन (लापसे) गरी कदापि सवारी नचलाऔँ ।९.         ट्राफिक नियमको सदैव पालना गरौँ ।१०.       हर्षोल्लास सहित चाडपर्व मनाऔँ, अपराध कार्यलाई भगाऔँ ।अन्त्यमा,“यहाँहरु ढुक्कले चाडपर्व मनाउनुहोस, प्रहरी त सदैव यहाँहरुको सुरक्षामा छदैँछ नि”!